Friday, December 4, 2009

कैलालीमा तनाव जारी/७ वटा सवारी साधनमा आगजनी

कैलाली जिल्लाको बलिया गाविसको बलचौर-डुडेझारी जंगलमा बसेका सुकुम्बासीलाई उठाउन खोज्दा प्रहरी र सुकुम्बासीबीच शुक्रबार भएको झडपका कारण शनिबार बिहानैदेखि त्यसक्षेत्रमा तनाव कायम छ । आक्रोशित सुकुम्बासीहरुले राजमार्गमा ७ वटा सवारी साधनमा आगजनी गरेका छन् । बजाज मोटरसाइकल लोड गरिएको ट्रकमा आगजनी गर्नुका साथै १२ वटा मोटरसाइकल समेत लुटेर लगेका छन् ।सुकुम्बासीलाई जंगलक्षेत्रबाट हटाउन तथा स्थितिलाई नियन्त्रणमा लिन कैलाली बाहेक छिमेकी जिल्लाहरुबाट पनि ठूलो संख्यामा सुरक्षाकर्मी मगाइएको छ । दुवैपक्षको तयारीका कारण आजपनि झडप हुने सम्भावना रहेको छ । घटनास्थलमा थप १ जना सुकुम्बासीको शव भेटिएको छ । यसरी उक्त घटनामा १ प्रहरीसहित ४ जनाको मृत्यु भएको छ । सुकुम्वासीहरुले बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका छन् । झडपमा परी २२ वषिर्य नरेन्द्र विक, रुपलाल डगौरा, संजय ढकाल र प्रहरी जवान पदम ऐडीको मृत्यु भएको जनाइएको छ । संजय ढकाल एकिकृत माओवादीका जिल्ला सचिवालय सदस्य भएका माओवादीले जनाएको छ । झडपमा ३० भन्दा बढी घाइते भएका उपचारमा संलग्न रेडक्रसकर्मीले जनाएका छन् । सुकुम्बासीले सइ कल्याणसिह महराकेा टाउकोमा बन्चरो प्रहार गरेका छन् । विरोधमा माओवादीले आज कैलाली बन्दको घोषणा गरेको छ । बन्चरो प्रहारबाट घाइते भएका महरासित रहेको पेस्तोल र गोली पनि सुकुम्बासीले लगेका प्रहरीले जनाएको छ । प्रहारबाट गम्भीर घाइते भएका महारालाई उपचारका लागि लखनउ लगिएको जनाइएको छ । घाइते प्रहरी जवान देवसिंह विष्टको अंचल अस्पताल धनगढीमा चेते खडकाको आखा अस्पताल गेटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।करिब २५ प्रहरीको रेडक्रसले उपचार गरेको र ५ जना जति सुकुम्बासीको उपचार गरेको टोलीमा खटिएकी गीता चौधरीले जनाएकी छिन् । मंसिर १० गतेदेखि बस्दै आएका सुकुम्बासी हटाउन बन कार्यालयले प्रचार प्रसार गरे पनि नमानेपछि प्रहरीले शुक्रबार बल प्रयोग गरी हटाउने प्रयास गरेको थियो तर उनीहरुले ठाउँ छाडेका छैनन् । सुकुम्बासीका नाममा बनेका झुप्रामा बन कर्मचारीले आगो लगाउन थालेपछि दुइ पक्षबीच शुक्रबार दिउसो करिब १ बजेतिर झडप शुरु भएको हो । प्रहरीले सयौं राउण्ड अश्रु ग्यास प्रहार गरे पनि नभागी उल्टै ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।गोली प्रहारबाट सुकुम्बासी भीमबहादुर थापाको पेटमा र गोपाल विकको हातमा गोली लागेको छ । गोली प्रहारबाट घाइते दुवै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । लम्की बजारबाट करिब ४ किलोमिटरको दुरीमा जंगल कब्जा गरी बसेका सुकुम्बासी हटाउन करिब २ हजार प्रहरी परिचालन भएका थिए भने सुकुम्बासीहरु करिब १० हजारको संख्या थिए । प्रहरी घटनास्थल आउन लागेको थाहा पाएपछि सुकुम्बासीले राजमार्गमा रुख ढालेर अवरोध गरेका थिए । माओवादी समर्थित दलित मुक्ति मोर्चाको २ घण्टे चक्का जामले पनि धनगढीबाट आउने प्रहरी टोलीलाई सुखडमा अवरोध गरेका थिए । आज थारुवान बन्ददाङ / कैलालीमा सुकुम्बासीमाथि प्रहरीले दमन गरेको भन्दै एकीकृत माओवादी संयुक्त जनआन्दोलन समिति र अखिल नेपाल सुकुम्बासी संघले आज(शनिबार) थारुवान क्षेत्र बन्दको घोषणा गरेको छ । यसैगरी समितिले आइतबार नेपाल बन्दको घोषणा गरेको छ । आज थारुवान क्षेत्रका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा यातायातका साथै कलकारखाना, उद्योग, बजार सबै बन्द गरिएको माओवादी दाङका सह सेक्रेटरी तथा जनआन्दोलन समितिका संयोजक रामजी चौधरीले बताए । बन्दको आह्वानसँगै आज बिहानैदेखि दाङ लगाएत पश्चिम तराइको जनजीवन प्रभावित भएको छ । माओवादीले सडकमा ढुंगा थुपारेर यातायात बन्द गर्न थालेका छन् । यातायात बन्द हुन थालेपछि यात्रुहरुलाई समस्या परेको छ ।

source : ekantipur.com

उपराष्ट्रपति हराएको सूचना

यस धरतीमा, यस घडीमा राज्यविहीन, प्रणालीविहीन र मूल्यहीन देश कहीँ छ भने त्यो सर्वोच्च शिखर सगरमाथामुन्तिर छ । त्यस देशलाई नेपाल कहिन्छ । बर्बरताको वर्चस्व भएको नेपालमा नागरिकले खाई नखाई तिरेको करमा पालिएको सेनाले उनै नागरिकलाई बेपत्ता पार्छ । बेपत्ता पार्ने निकाय नांगा आँखाले प्रस्टै देखिन्छ । कमान्ड दिने टावरवासी नाइके खुलस्त चिनिन्छ । कमान्ड लागू गरी नागरिकलाई बेपत्ता पार्ने स्थलगत नाइके छाती तन्काएर हिँडिरहन्छ । तर, न बेपत्ताको यथार्थ कथा पत्ता लाग्छ, न बेपत्ताकर्ता न्यायको कठघरामा उभिएको देख्न पाइन्छ । हुँदा-हुँदा अब त यो आदिम देशमा गणतन्त्रका उपराष्ट्रपति नै बेपत्ता हुन थाले ।बिहान अँध्यारैमा मर्निङवाकमा निस्कँदा गौरीघाट चोकमा एउटा सेतो प्रहरी भ्यान देख्थेँ । भ्यानको छेउछाउमा लाठा र राइफलधारी प्रहरीको झुप्पो हुन्थ्यो । नजिकै एउटा घरमा राष्ट्रिय झन्डा फहराउँथ्यो । यी दुई कुरा उपराष्ट्रपति त्यहाँ हुनुका दसी थिए । जगत् जान्दछ, उपराष्ट्रपति कामको पद होइन, दामको पद हो । यो राष्ट्रपति आक्कल-झुक्कल गद्दीमा नहुँदा गमक्क फुलेर निजको वारिसे भइदिने र बाँकी समय मग्नसँग बसिखाने पद हो । गद्दीमा उपराष्ट्रपति थिए, तिनले नियमबमोजिम विनाकाम गतिलो दाम थापेकै थिए । यहाँसम्म कुरा ठीकै थियो ।तर, फुर्तीलो सर्वोच्च अदालतको फैसलाले चमत्कार नै गर्‍यो । उपराष्ट्रपतिको झन्डा खोसियो । तिनको तलब-भत्ता शेष भयो । भ्यानसहित प्रहरीको झुप्पो अलप भयो । र, उपराष्ट्रपति श्री परमानन्द झा आनन्दरहित भएर दृश्यपटलबाट अन्तध्र्यान भए । उपराष्ट्रपति झाका निकटस्थ संरक्षक राष्ट्रपति यादव निश्चिन्त छन् । संसद्को भीड मौन छ । बुँख्याःचातुल्य माधव सरकार चिन्तामुक्त छ । मधेसी दलहरूलाई त मानौँ उपराष्ट्रपति हराएको थाहै छैन । कारण ती सत्ताको स्वादिष्ट भोजन ज्युनार गर्न अति व्यस्त छन् ।उपराष्ट्रपति झाको कसुर विचित्रको छ । यिनले आँखाले नेपाली भाषाको शपथ पढे, मुखले हिन्दी भाषामा शपथ खाए । र, ल्याप्चे सही चाइने नेपाली भाषाकै लिखतमा ठोके । अदालत वकितममा भन्दा लिखितममा विश्वास गर्ने संस्था हो । लिखितममा झाजीले नेपाली शपथलाई बाकाइदा सदर गरेका थिए । तर, सर्वोच्चले 'झा महोदयको शपथको प्रमाण देखाऊ' भनी राष्ट्रपति कार्यालयलाई सोध्ने लेठो गरेन । कारण पहाडी राष्ट्रवादको जाज्वल्यमान ध्वजामुनि उसको फैसलाको निरूपण सके पहिल्यै भइसकेको थियो । अजीवको जीव हो, हाम्रो सर्वोच्च अदालत । यसको प्राथमिकता र मानक अभियुक्तका जुँगा हेरी हुन्छ । शून्य समयमा जन्मेका रुक्मांगद कटवालको जन्ममिति खुट्याउन यसलाई कहिल्यै तातो लागेन । राष्ट्रपति यादवको कदमले शान्ति-प्रक्रियामा विकराल भ्वाङ पारेको छ । तर, श्री यादवमाथिको अभियोगको फैसला कुन साल वा कुन दशक वा कुन शताब्दीमा हुने हो, सर्वाेच्चका श्रीहजुरहरूलाई न थाहापत्तो छ, न हतार छ, न त पिरोलो नै छ । फैसला भइहाले कुन शुभमुहूर्तमा, कसको प्रभावमा, कसको दबाबमा, कसको इसारामा वा कसको हितमा हुने हो, भगवान् नै जानून् ।उपराष्ट्रपतिको शपथपछि मधेस-तराईको एक समुदायले हिन्दी राष्ट्रवादको ध्वजा उठायो, पहाडको एक डप\mफाले पहाडी राष्ट्रवादको ध्वजा फहरायो । यताको ध्वजासँग उताको ध्वजा जुध्यो । पक्ष-विपक्षले आ-आप\mनो कुरो धीत मरुन्जेल भने । यति भएपछि यो विवादको छिनोफानो नयाँ संविधानमा गरे भएकै थियो । नेपाली माटोमा बोलिने भाषाहरूको यथोचित उपयोगिता र हैसियतको टुंगो लगाउने वैध लिखत आखिर त्यही त हो । तर, कलहको चाङमाथि कलह थप्न सर्वोच्च अदालतलाई खसखस लाग्यो । र, उसले के-के न पुण्यकर्म गरेझैँ गरी झाजीको शपथ बदर गरिदियो । अनि सर्वोच्चको फैसलाले लखेटिएर उपराष्ट्रपति झा हराए ।श्री परमानन्द झा आफ्नो हातले एक्लै मत हालेर आफ्नै मुखले उपराष्ट्रपति घोषित भएका होइनन् । यी हिन्दीभाषी नेपालीहरूले मात्र मत हालेर विजयी भएका पनि होइनन् । राष्ट्रपति यादवलाई जति दलका जति सांसदले लाम लागेर मतदान गरे, यिनलाई पनि ती सबैले तीन हात उभिएर मतदान गरेकै हुन् । विडम्बनावश, मतदानको माध्यमले आफूले शिरमाथि बोकेका, सभक्ति पुजेका र हर्षोल्लासका साथ जयजयकार गरेका उपराष्ट्रपति हराउँदा पनि ती सब मौन छन् । ती ढुक्क छन् । गच्छेअनुसारको सत्ताभाग डकार्दै मस्त मुद्रामा ती चैनको सास फेरिरहेका छन् । घरमा पालिएको कुखुरो, बाख्रो, बिरालो, कुकुर वा सुँगुर हराउँदा चारचौरास धुइँपत्ताल खोजिन्छ । तर, गणतन्त्र नेपालका उपराष्ट्रपति हराउँदा खोजी गर्ने कोही छैन । मानौँ राजनीतिमा खाओवादीहरूको चकचकी चलेको याममा मानिस, पद, प्रतिष्ठा, मर्यादा आदिको गन्देझारको जति मूल्य पनि हुँदैन ।नौसिङे कानुनका ज्ञाताहरूले उपराष्ट्रपति झालाई राजनीतिको दोबाटोमा कैद गरेर अलपत्र छाडिदिएका छन् । हामीलाई दिव्य ज्ञान दान गर्दै ती भन्दाछन्- उपराष्ट्रपति झाजी चुनाव जितेको र शपथ नखाएको साँगुरो दोसाँधमा छन् । नौसिङे गुरुजीहरूलाई म अकिञ्चनको प्रश्न छ यो दोसाँधको आयु कति लामो हुन्छ ? दोसाँधको अक्करमा कति समय अड्किएपछि विजयी पात्रको विजय बदर हुन्छ ? अन्तरिम संविधानमा उपराष्ट्रपति पदको बन्दोबस्त छ । चुनिएका उपराष्ट्रपति झा विजय र शपथको बीचको कैदी भएर हराएका छन् । उपराष्ट्रपति कार्यालयको उदास गद्दी खाली छ । यो लज्जास्पद गाईजात्रा कतिन्जेल चल्ने हो ? थरीथरीका हेरिनसक्नु अनुहार भएका हरूवाहरू चुनावलाई उपहास गर्दै, बहुसंख्यक मतदाताका शिर टेक्दै, झन्डा हल्लाउँदै, समस्त परिवेशमा राजनीतिक र नैतिक प्रदूषण फैलाउँदै सत्ताका गद्दीमा ढसमस्स बसेका छन् । ती भत्ता र सुविधा, मोज र मस्ती भकाभक भोग गरिरहेका छन् । तर, जितुवा उपराष्ट्रपति झालाई न गद्दी छ, न झन्डा छ, न भत्ता छ । न त यो निरस रिक्तताको आयुकै अत्तोपत्तो छ । बिचरालाई कि दाम र मान दिनु कि झटपट बिदा दिनु यिनलाई यो अनिश्चितकालीन अपमान र यातना किन ?लाग्छ, श्री परमानन्द झाको भाग्यै खोटो छ । यिनलाई मधेसी जनअधिकार फोरमले काँधमा बोकेर नाटकीय ढंगले रातारात चुनावमा उतारे'थ्यो । अहिले यिनको जन्मदाता फोरमै फोरिएको छ । कुरूप तथ्य भन्छ- एक्काइस दलका गुरुजीहरू र दिल्लीका दाज्यैज्यूहरूले गच्छदारलाई हेर्दैमा मुख रसाउने सत्ताको हरियो तृण देखाए । राम्रैसँग तृणको स्वाद पाएका गच्छदार लोभिए । र, फोरमका तृणमार्गीहरूजतिलाई फकाउँदै र लोभ्याउँदै यिनले सत्तास्वाद तृप्त गर्नै फोरम भत्काए । गच्छदार थरले थारू हुन्, यिनको दलको नाममा मधेसी अलंकार गाँसिएको छ । तर, यिनले न थारू समुदायका सपनाको प्रतिनिधित्व गर्छन्, न त मधेसीका आकांक्षाकै प्रतिनिधित्व गर्छन् । त्यसैले आपनो दलका उपराष्ट्रपति झा गद्दीमा रहुन् कि हराउन्, यिनलाई कुनै चिन्ता छैन । फोरम यिनका लागि फगत वैतरणी नदी तर्ने पुल हो । पुल तरेर सत्तारूपी बैकुण्ठमा पुगेपछि तरिआएको पुल र पुल बनाउनेहरूको के मतलब ? यिनलाई त सत्तामा दीर्घायु रहन सिडिओ कुट्ने करिमा बेगमलाई दण्डमुक्त गर्न मात्र मतलब छ । उपराष्ट्रपति परमानन्द झा गद्दीमा रहे आफूलाई के लाभ हुन्छ, नरहे के घाटा हुन्छ ?रह्यो कुरा सत्ताभोगी अन्य मधेसी दलहरूको । यिनको लुब्ध मति र स्वाभिमानहीन कर्म हेर्दा यी दलहरू दल होइन, केवल ठूला दलका दलालजस्ता देखिन थालेका छन् । उपेक्षा, अपमान र अनिश्चयको अक्करमा परेर आप\mना उपराष्ट्रपति झा हराउँदा यी केही बोल्दैनन् । मानौँ एकाध मन्त्री पदका निम्ति यिनले आफ्नो इतिहास, प्रतिबद्धता र गरिमा सबै नै तिलाञ्जली दिइसकेका छन् । बरा जराविहीन र सत्ताविहीन जोगीजस्तो उपेन्द्र समूहले के गरोस् ? ज्या है ! सदाका लागि हराएको हरायै हुने भए उपराष्ट्रपति श्री परमानन्द झा । .

खगेन्द्र संग्रौला, source : nepalarab.com

छैठौं स्वास्थ्य स्वंसेविका दिवस मनाईंदै

स्वास्थ्य स्वंसेविकाको सेवा, स्वस्थ समाजको लागि टेवा’ भन्ने नाराका साथ आज छैठौं स्वास्थ्य स्वंसेविका दिवस देशभर मनाईंदैछ । महिला स्वास्थ्य स्वंसेविकाले स्वास्थ्यक्षेत्रमा पुर्‍याएको योगदानको मुल्याङ्कन गरी उनीहरुलाई सम्मान र थप प्रोत्साहन दिन विभिन्न कार्यक्रम गरि यो दिवस मनाईंदै आएको छ ।
दिवसको अवसरमा एक सन्देश दिँदै स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले महिला स्वास्थ्य स्वंसेविकाको सेवाले समुदायको स्वास्थ्यस्थिति सुधार्न उल्लेखनीय योगदान पुगेको भन्दै उनीहरुको प्रशंसा गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४८ हजार ५ सय ४९ महिला स्वास्थ्य स्वंसेविकाहरु कार्यरत छन् । उनीहरुको हितका लागि प्रत्येक गाविसमा ५० हजारको कोष स्थापना गरिएको र यस आर्थिक वर्षमा थप १० हजार रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।