यस धरतीमा, यस घडीमा राज्यविहीन, प्रणालीविहीन र मूल्यहीन देश कहीँ छ भने त्यो सर्वोच्च शिखर सगरमाथामुन्तिर छ । त्यस देशलाई नेपाल कहिन्छ । बर्बरताको वर्चस्व भएको नेपालमा नागरिकले खाई नखाई तिरेको करमा पालिएको सेनाले उनै नागरिकलाई बेपत्ता पार्छ । बेपत्ता पार्ने निकाय नांगा आँखाले प्रस्टै देखिन्छ । कमान्ड दिने टावरवासी नाइके खुलस्त चिनिन्छ । कमान्ड लागू गरी नागरिकलाई बेपत्ता पार्ने स्थलगत नाइके छाती तन्काएर हिँडिरहन्छ । तर, न बेपत्ताको यथार्थ कथा पत्ता लाग्छ, न बेपत्ताकर्ता न्यायको कठघरामा उभिएको देख्न पाइन्छ । हुँदा-हुँदा अब त यो आदिम देशमा गणतन्त्रका उपराष्ट्रपति नै बेपत्ता हुन थाले ।बिहान अँध्यारैमा मर्निङवाकमा निस्कँदा गौरीघाट चोकमा एउटा सेतो प्रहरी भ्यान देख्थेँ । भ्यानको छेउछाउमा लाठा र राइफलधारी प्रहरीको झुप्पो हुन्थ्यो । नजिकै एउटा घरमा राष्ट्रिय झन्डा फहराउँथ्यो । यी दुई कुरा उपराष्ट्रपति त्यहाँ हुनुका दसी थिए । जगत् जान्दछ, उपराष्ट्रपति कामको पद होइन, दामको पद हो । यो राष्ट्रपति आक्कल-झुक्कल गद्दीमा नहुँदा गमक्क फुलेर निजको वारिसे भइदिने र बाँकी समय मग्नसँग बसिखाने पद हो । गद्दीमा उपराष्ट्रपति थिए, तिनले नियमबमोजिम विनाकाम गतिलो दाम थापेकै थिए । यहाँसम्म कुरा ठीकै थियो ।तर, फुर्तीलो सर्वोच्च अदालतको फैसलाले चमत्कार नै गर्यो । उपराष्ट्रपतिको झन्डा खोसियो । तिनको तलब-भत्ता शेष भयो । भ्यानसहित प्रहरीको झुप्पो अलप भयो । र, उपराष्ट्रपति श्री परमानन्द झा आनन्दरहित भएर दृश्यपटलबाट अन्तध्र्यान भए । उपराष्ट्रपति झाका निकटस्थ संरक्षक राष्ट्रपति यादव निश्चिन्त छन् । संसद्को भीड मौन छ । बुँख्याःचातुल्य माधव सरकार चिन्तामुक्त छ । मधेसी दलहरूलाई त मानौँ उपराष्ट्रपति हराएको थाहै छैन । कारण ती सत्ताको स्वादिष्ट भोजन ज्युनार गर्न अति व्यस्त छन् ।उपराष्ट्रपति झाको कसुर विचित्रको छ । यिनले आँखाले नेपाली भाषाको शपथ पढे, मुखले हिन्दी भाषामा शपथ खाए । र, ल्याप्चे सही चाइने नेपाली भाषाकै लिखतमा ठोके । अदालत वकितममा भन्दा लिखितममा विश्वास गर्ने संस्था हो । लिखितममा झाजीले नेपाली शपथलाई बाकाइदा सदर गरेका थिए । तर, सर्वोच्चले 'झा महोदयको शपथको प्रमाण देखाऊ' भनी राष्ट्रपति कार्यालयलाई सोध्ने लेठो गरेन । कारण पहाडी राष्ट्रवादको जाज्वल्यमान ध्वजामुनि उसको फैसलाको निरूपण सके पहिल्यै भइसकेको थियो । अजीवको जीव हो, हाम्रो सर्वोच्च अदालत । यसको प्राथमिकता र मानक अभियुक्तका जुँगा हेरी हुन्छ । शून्य समयमा जन्मेका रुक्मांगद कटवालको जन्ममिति खुट्याउन यसलाई कहिल्यै तातो लागेन । राष्ट्रपति यादवको कदमले शान्ति-प्रक्रियामा विकराल भ्वाङ पारेको छ । तर, श्री यादवमाथिको अभियोगको फैसला कुन साल वा कुन दशक वा कुन शताब्दीमा हुने हो, सर्वाेच्चका श्रीहजुरहरूलाई न थाहापत्तो छ, न हतार छ, न त पिरोलो नै छ । फैसला भइहाले कुन शुभमुहूर्तमा, कसको प्रभावमा, कसको दबाबमा, कसको इसारामा वा कसको हितमा हुने हो, भगवान् नै जानून् ।उपराष्ट्रपतिको शपथपछि मधेस-तराईको एक समुदायले हिन्दी राष्ट्रवादको ध्वजा उठायो, पहाडको एक डप\mफाले पहाडी राष्ट्रवादको ध्वजा फहरायो । यताको ध्वजासँग उताको ध्वजा जुध्यो । पक्ष-विपक्षले आ-आप\mनो कुरो धीत मरुन्जेल भने । यति भएपछि यो विवादको छिनोफानो नयाँ संविधानमा गरे भएकै थियो । नेपाली माटोमा बोलिने भाषाहरूको यथोचित उपयोगिता र हैसियतको टुंगो लगाउने वैध लिखत आखिर त्यही त हो । तर, कलहको चाङमाथि कलह थप्न सर्वोच्च अदालतलाई खसखस लाग्यो । र, उसले के-के न पुण्यकर्म गरेझैँ गरी झाजीको शपथ बदर गरिदियो । अनि सर्वोच्चको फैसलाले लखेटिएर उपराष्ट्रपति झा हराए ।श्री परमानन्द झा आफ्नो हातले एक्लै मत हालेर आफ्नै मुखले उपराष्ट्रपति घोषित भएका होइनन् । यी हिन्दीभाषी नेपालीहरूले मात्र मत हालेर विजयी भएका पनि होइनन् । राष्ट्रपति यादवलाई जति दलका जति सांसदले लाम लागेर मतदान गरे, यिनलाई पनि ती सबैले तीन हात उभिएर मतदान गरेकै हुन् । विडम्बनावश, मतदानको माध्यमले आफूले शिरमाथि बोकेका, सभक्ति पुजेका र हर्षोल्लासका साथ जयजयकार गरेका उपराष्ट्रपति हराउँदा पनि ती सब मौन छन् । ती ढुक्क छन् । गच्छेअनुसारको सत्ताभाग डकार्दै मस्त मुद्रामा ती चैनको सास फेरिरहेका छन् । घरमा पालिएको कुखुरो, बाख्रो, बिरालो, कुकुर वा सुँगुर हराउँदा चारचौरास धुइँपत्ताल खोजिन्छ । तर, गणतन्त्र नेपालका उपराष्ट्रपति हराउँदा खोजी गर्ने कोही छैन । मानौँ राजनीतिमा खाओवादीहरूको चकचकी चलेको याममा मानिस, पद, प्रतिष्ठा, मर्यादा आदिको गन्देझारको जति मूल्य पनि हुँदैन ।नौसिङे कानुनका ज्ञाताहरूले उपराष्ट्रपति झालाई राजनीतिको दोबाटोमा कैद गरेर अलपत्र छाडिदिएका छन् । हामीलाई दिव्य ज्ञान दान गर्दै ती भन्दाछन्- उपराष्ट्रपति झाजी चुनाव जितेको र शपथ नखाएको साँगुरो दोसाँधमा छन् । नौसिङे गुरुजीहरूलाई म अकिञ्चनको प्रश्न छ यो दोसाँधको आयु कति लामो हुन्छ ? दोसाँधको अक्करमा कति समय अड्किएपछि विजयी पात्रको विजय बदर हुन्छ ? अन्तरिम संविधानमा उपराष्ट्रपति पदको बन्दोबस्त छ । चुनिएका उपराष्ट्रपति झा विजय र शपथको बीचको कैदी भएर हराएका छन् । उपराष्ट्रपति कार्यालयको उदास गद्दी खाली छ । यो लज्जास्पद गाईजात्रा कतिन्जेल चल्ने हो ? थरीथरीका हेरिनसक्नु अनुहार भएका हरूवाहरू चुनावलाई उपहास गर्दै, बहुसंख्यक मतदाताका शिर टेक्दै, झन्डा हल्लाउँदै, समस्त परिवेशमा राजनीतिक र नैतिक प्रदूषण फैलाउँदै सत्ताका गद्दीमा ढसमस्स बसेका छन् । ती भत्ता र सुविधा, मोज र मस्ती भकाभक भोग गरिरहेका छन् । तर, जितुवा उपराष्ट्रपति झालाई न गद्दी छ, न झन्डा छ, न भत्ता छ । न त यो निरस रिक्तताको आयुकै अत्तोपत्तो छ । बिचरालाई कि दाम र मान दिनु कि झटपट बिदा दिनु यिनलाई यो अनिश्चितकालीन अपमान र यातना किन ?लाग्छ, श्री परमानन्द झाको भाग्यै खोटो छ । यिनलाई मधेसी जनअधिकार फोरमले काँधमा बोकेर नाटकीय ढंगले रातारात चुनावमा उतारे'थ्यो । अहिले यिनको जन्मदाता फोरमै फोरिएको छ । कुरूप तथ्य भन्छ- एक्काइस दलका गुरुजीहरू र दिल्लीका दाज्यैज्यूहरूले गच्छदारलाई हेर्दैमा मुख रसाउने सत्ताको हरियो तृण देखाए । राम्रैसँग तृणको स्वाद पाएका गच्छदार लोभिए । र, फोरमका तृणमार्गीहरूजतिलाई फकाउँदै र लोभ्याउँदै यिनले सत्तास्वाद तृप्त गर्नै फोरम भत्काए । गच्छदार थरले थारू हुन्, यिनको दलको नाममा मधेसी अलंकार गाँसिएको छ । तर, यिनले न थारू समुदायका सपनाको प्रतिनिधित्व गर्छन्, न त मधेसीका आकांक्षाकै प्रतिनिधित्व गर्छन् । त्यसैले आपनो दलका उपराष्ट्रपति झा गद्दीमा रहुन् कि हराउन्, यिनलाई कुनै चिन्ता छैन । फोरम यिनका लागि फगत वैतरणी नदी तर्ने पुल हो । पुल तरेर सत्तारूपी बैकुण्ठमा पुगेपछि तरिआएको पुल र पुल बनाउनेहरूको के मतलब ? यिनलाई त सत्तामा दीर्घायु रहन सिडिओ कुट्ने करिमा बेगमलाई दण्डमुक्त गर्न मात्र मतलब छ । उपराष्ट्रपति परमानन्द झा गद्दीमा रहे आफूलाई के लाभ हुन्छ, नरहे के घाटा हुन्छ ?रह्यो कुरा सत्ताभोगी अन्य मधेसी दलहरूको । यिनको लुब्ध मति र स्वाभिमानहीन कर्म हेर्दा यी दलहरू दल होइन, केवल ठूला दलका दलालजस्ता देखिन थालेका छन् । उपेक्षा, अपमान र अनिश्चयको अक्करमा परेर आप\mना उपराष्ट्रपति झा हराउँदा यी केही बोल्दैनन् । मानौँ एकाध मन्त्री पदका निम्ति यिनले आफ्नो इतिहास, प्रतिबद्धता र गरिमा सबै नै तिलाञ्जली दिइसकेका छन् । बरा जराविहीन र सत्ताविहीन जोगीजस्तो उपेन्द्र समूहले के गरोस् ? ज्या है ! सदाका लागि हराएको हरायै हुने भए उपराष्ट्रपति श्री परमानन्द झा । .
खगेन्द्र संग्रौला, source : nepalarab.com
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment