
आफ्नो हजुरबुबा त्रिभुवनकी छोरीको नातीको विवाह समारोहमा सहभागी हुन भनी आइतबार भारत भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको यो भ्रमणलाई नितान्त पारिवारिक भ्रमण र भेटघाट भनिए पनि उनका सहयोगीहरुले यो भ्रमणलाई राजनीतिक भ्रमण बनाएका छन् ।
दक्षिण भारत जान भनी आइतबार दिल्ली पुगेका पूर्व राजा ज्ञानेन्द्रले झण्डै एक साताको दिल्ली बसाईंमा राजनीतिक भेटवार्ता गर्न बताइएको छ । उहाँले आज भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न राजनेता र व्यापारीहरुसँग भेट्ने कार्यक्रम तय भएको छ । उहाँले आधा दर्जन जति भारतका प्रतिष्ठित व्यापारी र सोही संख्यामा राजनेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।
पुस ७ गते हुने विवाह समारोहमा भाग लिन जानु अगाडि पूर्व राजा ज्ञानेन्द्रले भारतका मन्त्री मुरली मनोहर जोशी, राजस्थानका मुख्य मन्त्री नयन्द्र मोदी, उत्तर प्रदेशका नेता मुलायमसिंह यादव र प्रमुख प्रतिपक्षी दलका नेता लालकृष्ण आँडवाणीलगायतका हिन्दूवादी नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम यसअघि नै तय भइसकेको छ ।
पूर्व राजा ज्ञानेन्द्रले यसरी हिन्दूवादी नेताहरुसँग मात्र भेटवार्ता गर्ने कार्यक्रम तय भएबाट थप आशंकाहरु जन्मिन थालेका छन् । यसअघि पनि एक महिना लामो भारत भ्रमण गरेका पूर्व राजा ज्ञानेन्द्रलाई भारतीय सरकार र राजनेताहरुले ठूलो महत्व दिएर भेटवार्ता गरेको थियो । यसपटकको भ्रमणमा समेत प्रधानमन्त्री मनमोहन सिंह, सोनिया गान्धीलगायतकासँग भेटवार्ताका लागि पूर्वराजा निकट भारतीय नेताहरुले प्रयास गरिरहेका छन् ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र भारतबाट स्वदेश नफर्की युरोपियन युनियन सम्बद्ध राष्ट्रहरु बेलायतलगायतका देशहरुको भ्रमणमा निस्कने तयारीमा हुनुहुन्छ ।
निर्मल निवास स्रोतले पछिल्लो समयमा दलहरुबीचको तिक्तताका कारण नेपाली जनता आजित भएको र आफूप्रति सद्भाव बढेको अनुमानसहित विदेश भ्रमणबाट आफ्नो कूटनीतिक पकड र समर्थन बढाउने रणनीति अख्तियार गरेको जानकारी दिएको छ ।
source : onlinekhabar.com
No comments:
Post a Comment